दफा
वंशजको नाताले नेपाली नागरिकता प्राप्ति :

(१) कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा दफा ५ को उपदफा (२) बमोजिम हुनेछ।

(३) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ र निजले सोह्र वर्ष उमेर पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता लिन सक्नेछ ।

(४) संवत्‌ २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन्‌ भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ।

(५) “नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ।

(६) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन्‌ भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।

(७) उपदफा (५) बमोजिम नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिए बमोजिम स्वघोषणा गरी वंशजको आधारमा प्राप्त गरेको नागरिकताको प्रमाणपत्र बुझाएमा अङ्गिकृत नागरिकता प्राप्त गर्नेछ ।

(८) उपदफा (३) बमोजिम नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु वा आमा पत्ता लागेमा निजले प्राप्त गरेको नागरिकता सम्बन्धमा देहाय बमोजिम गर्नु पर्नेछ:-
(क) यस ऐन बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त हुने भएमा सोही बमोजिमको विवरण अध्यावधिक गरी निजको नागरिकता कायम गर्ने,
(ख) यस ऐन बमोजिम नेपालको अङ्गिकृत नागरिकता प्राप्त हुने भएमा निजले वंशजको आधारमा प्राप्त गरेको नागरिकता खिची निजलाई अङ्गिकृत नागरिकता प्रदान गर्ने ।